जन आकाश
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्काले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तय गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै अनियमितता, करछली, कालोबजारी र व्यवसायिक एकाधिकारजस्ता सुशासन विरोधी गतिविधिलाई नियन्त्रण गर्ने स्पष्ट नीति लिइएको उल्लेख छ। यस्ता गतिविधिमा संलग्नलाई कानूनी दण्ड–सजाय गरिने उल्लेख गरिएको छ।
गाई, भैंसी पालनलाई प्रोत्साहन गर्दै दुधजन्य उत्पादनको खपत र बजार विस्तारका लागि “दही मोहीलाई प्राथमिकता दिऔँ” अभियान सञ्चालन गरिने भएको छ। रसायनयुक्त चिसो पेय पदार्थको आयातलाई क्रमशः निरुत्साहित गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख छ ।
युवाहरूमाझ रोजगारी सिर्जना गर्न सिप विकास तालिमलाई विगतमा झै निरन्तरता दिइने र विद्यालय तहमा अंग्रेजी माध्यमको पठनपाठनलाई प्रोत्साहन दिइनेछ। प्रत्येक वडामा खेलमैदान निर्माण, अभिभावक शिक्षाको कार्यक्रम तथा घरदैलोमै स्वास्थ्य सेवा दिने गरी जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख छ। सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा निरन्तर दिने नीति पनि यथावत् राखिएको उल्लेख छ।
बाँझो जमिनमा फलफूल खेती, पाखोमा तितेपतिि खेती, आलु र किवी खेतीको व्यवसायिकरण लगायत असल कृषि अभ्यासलाई आत्मसात् गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको छ। स्थानीय उत्पादन संकलन केन्द्रमार्फत बजार पहुँच व्यवस्था गरिनेछ उल्लेख छ।
प्रत्येक वडामा एउटा नमुना सहकारी स्थापना गर्दै सहकारीहरूलाई उत्पादन र सेवामुखी बनाउन प्रोत्साहन गरिने जनाइएको छ। साथै, पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गर्ने र १५ जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिने उद्योगी तथा लगानीकर्तालाई कर लगायत सेवा सुविधा दिइने नीति अवलम्बन गरिएको छ।
एकीकृत बस्ती विकासका लागि गुरु योजना बनाई सुविधा सम्पन्न बस्ती निर्माण गरिनेछ। आगामी आर्थिक वर्षभित्र शतप्रतिशत घरधुरीमा स्वच्छ खानेपानी र्पुयाउने लक्ष्यसहित स्वच्छ धारा निर्माण सम्पन्न गरिने उल्लेख छ।
सूचनाको हक, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति गर्न स्थानीय आमसञ्चार नीति तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइने योजना पनि समेटिएको उल्लेख छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend