logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एक्सओ क्लवमा छैठौं डिलाइट च्यारिटी कन्सर्ट-२०२५ सम्पन्न


  • जन आकाश
  • सोमबार, साउन १२ २०८२

काठमाडौं: हरेक वर्ष अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट च्यारिटी कन्सर्ट २०२५ यस वर्ष पनि सम्पन्न भएको छ । डिलाईट हेरिटेज म्यूजिक र जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले संयुक्त रुपमा ठमेलस्थित एक्सओ क्लवमा छैठौं डिलाइट च्यारिटी कन्सर्ट सम्पन्न गरेको हो ।



कन्सर्टमा सहभागी बालबालिकाहरुले राष्ट्रिय गानबाट आफ्नो प्रस्तुती सुरुवात गरेका थिए । उक्त कन्सर्टमा डिलाइट म्यूजिक स्कूलका विद्यार्थीहरुले आफुले सिकेको सांगीतिक कला प्रस्तुत गरेका थिए । डिलाइट ब्याण्डका साथै त्रि-नेत्र फाउण्डेशन, सेन्टर फर डिजावेल्ड चिल्ड्रेन एशोसिएसन, बोदिचित्र डेभलपमेन्ट सोसाईटी, नग्री वेलफेयर सोसाईटी, ह्प्पी चिल्ड्रेल होम, बज्र अर्य फाउण्डेशन लगायतबाट सहभागी बालबालिकाले आफूले सिकेका कला च्यारिटी कन्सर्टमा प्रस्तुत गरेका थिए ।

च्यारिटी कन्सर्ट हेर्न आएका आम दर्शकलाई डिलाइट ब्याण्डका बालबालिकाले ‘गुराँसै फुल्यो…’, ‘फुलको आँखामा…’, ‘मादल सेलो…’ र ‘रेशम फिरिरि…’ लगायतका विभिन्न सांगीतिक प्रस्तुती दिई मनोरञ्जन दिलाएका थिए । यसका साथै त्रि-नेत्र फाउण्डेशनका बालबालिकाले ‘हेर्दा राम्रो…’ सेन्टर फर डिजावेल्ड चिल्ड्रेन एशोसिएसनका बालबालिकाले ‘कश्मिरे पछ्यौरी…’ बोदिचित्र डेभलपमेन्ट सोसाईटीका बालबालिकाले ‘फुरफुरी…’ बोलको सांगीतिक प्रस्तुती दिएका थिए ।

त्यस्तै नग्री वेलफेयर सोसाईटीका बालबालिकाले ‘सधै सधै…’ बोलको सांगीतिक प्रस्तुत गरेका थिए भने ह्प्पी चिल्ड्रेल होमका बालबालिकाले ‘लेकाली…’, ‘कलिलो तामालाई…’ रिमेक्स भर्सनको सांगीतिक प्रस्तुती दिएका थिए । त्यस्तै बज्र अर्य फाउण्डेशनका बालबालिकाले ‘बाँझो खेतमा…’ सांगीतिक प्रस्तुत गरेर च्यारिटी कन्सर्ट हेर्न आएका आम दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी विभिन्न संस्थामा आवद्ध रहि आएका बालबालिकालाई संगीत सिकाईरहेका शिक्षकहरुले संयुक्त रुपमा ‘तिम्रो नै माया लाग्दछ…’, ‘सालको पात…’, बोलको गीतमा प्रस्तुती दिएका थिए ।

शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहिन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगत पाँच वर्षदेखि नेपालमा रहेको टिपिकल बाद्यावादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोन लगायतका सिप सिकाउदै आएको छ । ब्रम्हकुमारी मार्ग, ज्याठा, ठमेल काठमाडौमा रहेको डिलाईट म्यूजिक स्कुलले पीएनो, सारङ्गी, सेक्सोफोन, गीटार, मादल, बाँसुरी, वेस्टन फ्लुट लगायतका विभिन्न बद्यबादनहरु सिकाउँदै आईरहको छ ।

ताइवानी नागरिक जेवेल चिएङले स्थापना गरेको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरबाटै उक्त सांगीतिक कक्षाहरु सञ्चालन हुँदै आएको छ । उक्त केयर सेन्टरका फाउण्डर समेत रहेकी चिएङकै सम्पूर्ण सहयोगमा विभिन्न जिल्लामा रहेका असाहय दृष्टिबिहीन बालबालिकाहरुले बाद्यबादन सम्बन्धी सबै खाले सिप सिक्दै आएको डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककका कार्यकारी अधिकृत राजेश गुरुङले अखबारनेपाल डटकमलाई जानकारी गराए । गुरुङले देशभर विभिन्न ठाउँबाट आएका दृष्टिविहीन बालबालिकाहरुलाई विगत तीन वर्षदेखि संगीत तथा बाद्यवादन सिकाउनका लागि आवश्यक खर्चको व्यवस्था ताइवानी नागरिक जेवेल चिएङले गर्दै आएको बताए । सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए । सो कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था ताइवानी नागरिक चिएङले व्यवस्था गरेका छन् भने उनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend