logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

जुनसुकै कम्पनीको एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । उपभोक्ताले जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।



अधिवक्ता विमल पोखरेलले ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको सास्ती अन्त्य गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कुनै पनि कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गर्न माग गरिएको छ ।

उद्योगी र ग्यास डिलरहरूको मिलेमतोमा बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई फरक कम्पनीको नयाँ सिलिन्डर महँगो मूल्यमा किन्न बाध्य पारिएको रिटमा जिकिर गरिएको छ ।

यस्तो कार्यले संविधानको धारा १६ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा ४४ मा व्यवस्था गरिएको गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउने र क्षतिपूर्ति प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन भएको निवेदकको दाबी छ ।

सरकारले खाना पकाउने ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखे पनि दसैँ–तिहारजस्ता चाडपर्वमा समेत कालोबजारी हुने गरेको रिटमा उल्लेख छ । यसबाट विद्यार्थी, मजदुर तथा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेको निवेदकको भनाइ छ ।

ग्यासको कालोबजारी तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्न जुनसुकै कम्पनीको सिलिन्डर तत्काल साट्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।

दशकौँदेखि उपभोक्ता ग्यासको कालोबजारीको मारमा पर्दै आएको उल्लेख गर्दै निवेदक पोखरेलले एउटै व्यक्ति तथा परिवारले दर्जनौँ ग्यास उद्योग सञ्चालन गरी बजारमा सिन्डिकेट कायम गरेको आरोप लगाएका छन् । यस्तो प्रवृत्तिलाई कानुनी रूपमै नियन्त्रण गर्नुपर्ने उनको माग छ ।

उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend