logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । अमेरिकामा आज (नोभेम्बर ३) मध्यावधि निर्वाचन हुँदैछ । नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुनेछ ।



यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । यसका साथै केही राज्यमा गभर्नर पदका लागि पनि निर्वाचन हुनेछ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन भएको ठीक दुई वर्षपछि मध्यावधि निर्वाचन हुने व्यवस्था छ । यस निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल र राजनीतिक एजेन्डाको परीक्षणका रूपमा समेत हेरिएको छ ।

हाल अमेरिकी संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । यदि रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि ट्रम्पलाई आफ्ना नीतिगत एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन कठिन हुन सक्छ ।

सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक

अमेरिकी सिनेटमा कुल १०० सिट छन् । बहुमत कायम गर्न कम्तीमा ५१ सिट आवश्यक पर्छ ।

हाल रिपब्लिकन पार्टीसँग ५३ सिट छन् भने डेमोक्र्याटिक पार्टीसँग ४५ सिट र डेमोक्र्याटिक पक्षसँग सहकार्य गर्ने दुई स्वतन्त्र सांसद छन् । यसरी सिनेटमा रिपब्लिकन र डेमोक्र्याटिक पक्षबीच ५३–४७ को शक्ति सन्तुलन रहेको छ ।

यसपटक सिनेटका ३५ सिटका लागि निर्वाचन हुँदैछ । तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्र्याटिक पार्टीका छन् । सिनेटमा बहुमत हासिल गर्न डेमोक्र्याटिक पार्टीले कम्तीमा चार सिटको स्थिति सुधार गर्नुपर्नेछ ।

सिनेटमा दुवै दलको सिट संख्या ५०–५० भए उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छन् । यहाँ बहुमत कायम गर्न कम्तीमा २१८ सिट आवश्यक पर्छ ।

यसपटक प्रतिनिधिसभाका सबै ४३५ सिटका लागि निर्वाचन हुँदैछ । २१८ वा सोभन्दा बढी सिट जित्ने पार्टीले तल्लो सदनमा बहुमत प्राप्त गर्नेछ ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको मुख्य चुनौती दुवै सदनमा आफ्नो बहुमत कायम राख्नु हुनेछ भने डेमोक्र्याटिक पार्टी दुवै सदनमा बहुमत हासिल गर्ने रणनीतिमा छ ।

यस निर्वाचनको नतिजाले अमेरिकी संसद्को शक्ति सन्तुलन परिवर्तन गर्नुका साथै राष्ट्रपति ट्रम्पको आगामी दुई वर्षको कार्यकालमा नीति तथा कानुन निर्माणको दिशासमेत प्रभावित पार्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend