logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

१५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा पेस


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।



सोमबार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको फोटोसहितको विवरण निर्वाचन आयोगमा पेस गरेको हो ।

गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गराउने उद्देश्यले विवरण बुझाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा कागजात पेस गरिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाइएको कांग्रेसले जनाएको छ । उक्त कानुनी व्यवस्थाअनुसार राजनीतिक दलले पदाधिकारी वा केन्द्रीय समितिमा हेरफेर गरे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएकाले त्यसलाई अद्यावधिक गर्न विवरण पेस गरिएको हो ।

कांग्रेसले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरणसँगै विधान संशोधनसम्बन्धी कागजात, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरूसमेत निर्वाचन आयोगमा बुझाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend