जन आकाश
काठमाडौ । रुसको सुदूरपूर्वी तटनजिकै बुधवार बिहान म्याग्निट्यूड ८.८ को शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार उक्त भूकम्प रुसको क्याम्च्याट्का प्रायःद्वीपमा शक्तिशाली भूकम्प गएको हो। यूएसजीएसका अनुसार यो भूकम्प जमिनको सतहभन्दा १८ किलोमिटर तल उत्पन्न भएको थियो।
उक्त भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ ठूलो भएको यूएसजीएसले जनाएको छ। भूकम्पका कारण अहिलेसम्म कसैको मृत्यु भएको विवरण आएको छैन। तर केन्द्रबिन्दुनजिकै भवनहरू भत्किएका र बन्दरगाह पानीमा डुबेको देखिने तस्बिरहरू सार्वजनिक भएका छन्।
रुसी भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो। विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो। त्यहाँ जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प मापन गरिएको थियो।
समाचारसंस्थाहरूका अनुसार अहिलेसम्म जापान, संयुक्त राज्य अमेरिका, पेरू, कोलम्बिया, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्स, इन्डोनेशिया, क्यानडाको ब्रिटिश कोलम्बियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend