logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साहित्यकार तथा पत्रकार विजय चालिसेको निधनमा २१ साहित्यिक संस्थाहरुद्वारा संयुक्त रुपमा श्रद्धाञ्जली सभा


  • जन आकाश
  • मंगलबार, साउन २० २०८२

जयराम बिडारी



काठमाडौ । अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको दुई महिनाको अवसर पारेर सहित्य सदन नेपालको सम्योजनमा २१ साहित्यिक संस्थाहरुद्वारा संयुक्त रुपमा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

साहित्य सदन नेपाल रामहिटी बौद्धमा आयोजित उक्त कार्यक्रममा सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको सभापतित्व, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरुले चालिसेको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कीर्तिशेष विजय चालिसेको स्मृतिमा एक मिनेट मौन धारण गर्दै उपस्थित लब्धप्रतिष्ठित व्यक्तित्वहरुद्वारा चालिसेको तस्वीरमा माल्यार्पण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले विजय चालिसेकै अग्रसरतामा रमेश विकल साहित्य प्रतिष्ठानको निर्माण गरिएको प्रसंग स्मरण गर्दै उनको महत्वपूर्ण कार्य भनेकै साहित्य सेवा,पत्रकारिता र प्राध्यापन गर्दै गर्दा पनि रमेश विकल साहित्य प्रतिष्ठानको स्थापना गरी साहित्यानुरागीहरुका बीच सुयोग्य पितालाई अमरत्व प्रदान गर्नु रहेको उल्लेख गरे । वरिष्ठ हास्य ब्यङ्ग्यकार भैरव अर्यालबाट प्रभावित भएर साहित्यिक क्षेत्रमा क्रियाशील रहेका अत्यन्त भद्र स्वभाव भएका विजय चालिसेले अभिभावक प्रति सदैव उच्च सम्मान दर्शाएका थिए । घिमिरेले प्रतिष्ठान निर्माणको सुरुवाती चरणदेखि नै आफूले नजिकबाट नियालिरहेको बताउँदै उनको सक्रियता र योगदान बिना प्रतिष्ठान राष्ट्रिय रुपमै आजको अवस्थामा आउन नसक्ने बताए ।

सो समारोहमा वरिष्ठ समालोचक ठाकुर शर्माले चालिसेको ५१ वर्षको सक्रिय लेखन कर्ममा वहुविधामा ५६ कृतिहरू प्रकाशित भएको जानकारी दिंदै निबन्धबाट सुरु भएको उनको लेखन यात्रा पछिल्लो समयमा उपन्यासमा टुङ्गिएको बताए ।

यसैक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले स्कुले जिवनमा आफ्ना गुरु समेत रहनुभएका चालिसेसँग साहित्यिक, सामाजिक क्षेत्रमा काँधमा काँध जोडेर काम गर्ने अवसर पाएको स्मरण गर्दै वहाँ जस्ता प्रतिभाहरूको सहयोग, प्रेरणा र हौसलाले गर्दा नै गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रमा अनुकरणिय काम गर्न सफल भएको बताए । उनले साहित्य तथा पत्रकारिता क्षेत्रका शिखर व्यक्तित्वलाई राज्यले उचित सम्मान दिन नसके पनि गोकर्णेश्वर नगरपालिकाले नगर सलामी दिन पाएकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रिय प्रतिभाका रुपमा सुपरिचित यस्ता व्यक्तित्वहरुलाई अन्य स्थानमा पनि उचित सम्मान गर्नुपर्ने कार्यको थालनी गर्नुपर्ने धारणा व्यक्त गरे ।

सो समारोहमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले चालिसे राम्रा साहित्यकार प्राध्यापनमा सक्रिय र पत्रकारिताका क्षेत्रमा अब्बल रहेको उल्लेख गर्दै पत्रकारिता निष्पक्ष हुने भन्दा पनि संस्थागत रुपमा निर्दिष्ट हुने भन्दै सक्रिय पत्रकारिताका क्रममा एक अर्का प्रति सन्तुलित सहकार्य गरेको समेत बताए ।
मन्तव्यका क्रममा उनले लेखक-साहित्यकार राष्ट्रका गहना नभई उनिहरु राष्ट्रकै स्पन्दन रहेको बताउँदै चालिसेको अन्तिम विदाईमा गोकर्णेश्वर नगरपालिकाले गरेको सलामीको मुक्तकण्ठले प्रशंसा गरे । यसैगरी अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष शम्भु बडालले जसरी गुलाबको सुगन्ध उसको पत्र पत्रमा रहे जस्तै विजय चालिसेको सृजनामा उनलाई भरपूर रुपमा पाउन सकिने बताउँदै प्रतिष्ठानको श्रीवृद्धिका लागि चालिसेको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

यसैक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ ले चालिसे सँगको मित्रताको रहस्योद्घाटन गर्दै २८ सालदेखि छिटफुट रुपमा लेखनमा सक्रिय रहेका चालिसेले ३१ सालदेखि समयलाई कत्ति पनि खेर नफाली सक्रिय रुपमा लेखनकर्ममा लागेको बताए । कतिपय सूचना र जानकारीका बारेमा सहजताका साथ प्रस्तुत हुने चालिसे ६५, ६६ सालदेखि साहित्यिक उन्नयनका क्षेत्रमा पूर्ण रुपमा समाहित रहेको बताँदै भैरव अर्याल,रमेश विकल र विजय चालिसे पूर्वी काठमाण्डौका मात्र नभई समग्र नेपाली साहित्यका चम्किला ताराका रुपमा परिचित रहेको पनि बताए ।

उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्राध्यापक जगत उपाध्याय प्रेक्षितले स्वाभिमानका अग्ला धरोहर चालिसेलाई लक्ष्मीप्रसाद देवकोटा पुरस्कार प्रदान गर्नका लागि मागिएको वैयक्तिक विवरणका लागि ठूलो संघर्ष गर्नुपरेको प्रसंग उल्लेख गर्दै सक्षम र क्षमतावान साहित्यकारले पुरस्कार तथा सम्मानका लागि दरखास्त हालि राख्नु नपर्ने भन्दै उपर्युक्त व्यक्तिलाई उचित पुरस्कार सम्बन्धित संस्थाले नै खोजेर दिनुपर्ने बताए । यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यले विजय चालिसे स्वाभिमानी,लोभ र लालच भन्दा माथी उठेका सुयोग्य पात्र रहेको बताउँदै रमेश विकल साहित्य प्रतिष्ठानलाई दिलो ज्यान दिएर आजको अवस्थाको राष्ट्रियस्तरको संस्था बनाएको बताए । यसैगरी कार्यक्रममा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले रमेश विकलको पदचापलाई राम्ररी पछ्याएका चालिसेका समाज उपयोगी साहित्य सृजनाले रक्तवंश का साथ साथै शब्दबंशको समेत प्रभावका कारण श्रद्धाञ्जली सभामा खचाखच रुपमा साहित्यानुरागीहरुको उपस्थिति रहेको बताए ।

कार्यक्रममा चालिसेका कान्छा सुपुत्र आलोकले आफ्ना पिताले असल अभिभावकीय भूमिका निभाउँदै सामाजिक, शैक्षिक, पत्रकारिता र साहित्यको माध्यमबाट समाज उपयोगी कर्म गरेको बताए । उनले पिताको योगदानलाई चिरस्थायी बनाउन विजयलक्ष्मी ट्रष्ट स्थापना गर्न लागिएको समेत बताए । एकै परिवारका चार पुस्ता साहित्यको उन्नयनका क्षेत्रमा अनवरत साधनामा निमग्न परिवार सदस्यले आफ्ना कीर्तिशेष पिता-माताका नाममा ट्रस्ट निर्माण गर्ने जस्ता असल कर्मले साहित्यिक क्षेत्रमा योग्य पिता पाएकोमा गर्व छ भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend