logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

‘“सहरिया बुहारी” टेलिसिरियलले १०० भाग पूरा गर्दै कलाकार तथा पत्रकारलाई सम्मान


  • जन आकाश
  • बुधबार, कार्तिक २६ २०८२

काठमाडौं । सन्जीबीनी अनलाइन टिभीद्वारा निर्माण गरिएको लोकप्रिय नेपाली टेलिसिरियल ‘सहरिया बुहारी’ ले हालै आफ्नो १०० भाग पूरा गरेको छ। समाजमा शहरी जीवनशैली, पारिवारिक उतारचढाव र सम्बन्धका कथाहरू प्रस्तुत गर्ने यस सिरियलले दर्शकको मन जित्दै सयौ शतभागको यात्रा पूरा गरेको हो।



सिरियलका कथालेखक तथा निर्देशक सन्तोष पौडेलको लेखन र निर्देशनमा तयार पारिएको यो सिरियलको उपलब्धि मनाउँदै, निर्माण टोलीले गत शुक्रबार विशेष सम्मान समारोह आयोजना गरेको थियो। उक्त कार्यक्रममा सिरियलमा अभिनय गरेका ४६ जना कलाकार र साथसाथै योगदान पुर्‍याएका १० जना पत्रकारहरूलाई सम्मान गरिएको थियो।

समारोहमा उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथि तथा कलाकार संघका अध्यक्ष मोहन निरौला विशेष अतिथि रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमको अध्यक्षता सन्जीबीनी अनलाइन टिभीका सञ्चालक सन्तोष पौडेलले गरेका थिए।

समारोहमा बोल्दै उपसभामुख राना मगरले कलाकारिताको यात्रा कठिन र संघर्षपूर्ण हुने बताउँदै, “भर्खरै १०० भाग पूरा गरेको ‘सहरिया बुहारी’को टिमले नेपाली सिरियल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ,” भन्दै सम्पूर्ण कलाकार र निर्माण टोलीलाई शुभकामना दिइन्।

त्यस्तै, कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि आफ्नो मन्तव्य राख्दै सिरियलको सफलताप्रति खुशी व्यक्त गरे। उनले भने, “सहरिया बुहारीले नेपाली समाजका वास्तविक पक्षहरूलाई सहज भाषामा प्रस्तुत गर्दै दर्शकको माया कमाएको छ। यसका सबै कलाकारलाई म हार्दिक बधाई दिन चाहन्छु।”

कार्यक्रममा सहभागी कलाकारहरूले पनि १०० भाग पूरा भएको अवसरमा आफ्नो अनुभव र खुशी साझा गरेका थिए। ‘सहरिया बुहारी’ सिरियलले छोटो अवधिमै दर्शकको मनमा छुट्टै स्थान बनाउन सफल भएको छ, र अब यसको निर्माण टोलीले आगामी भागहरूमा अझ गहिरो कथा र उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend