जन आकाश
काठमाडौं— आयु इन्टरटेन्मेन्ट लिमिटेड (फिस्टेल ड्रिम पार्क) ले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशत बराबरको आइपिओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १ सय मा ३० लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको हो ।
बिक्री प्रबन्धक नियुक्तिका लागि सम्झौतापत्रमा आयु इन्टरटेन्मेन्टका अध्यक्ष कदम केसी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले बुधबार कमलपोखरीस्थित कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
पोखरामा अवस्थित फिस्टेल ड्रिम पार्कमा सारथी ग्रुपसहित देशका प्रतिष्ठित उद्यमी र स्थानीय पर्यटन व्यवसायीहरुको लगानी रहेको कम्पनीले जनाएको छ । करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क सबै उमेरका मनोरञ्जन प्रेमीका लागि आकर्षण मानिन्छ । पार्कभित्र वाटर पार्क, वेभ पूल र विभिन्न साहसिक खेल सुविधा समावेश रहेकाले यसलाई नेपालकै ठूलो मनोरञ्जन पार्कका रूपमा प्रस्तुत गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले धितोपत्र बोर्डबाट निक्षेप सदस्यता, योजना व्यवस्थापन, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन र बिक्री प्रबन्ध लगायतका सेवा सञ्चालनको अनुमति प्राप्त गरेको मर्चेन्ट बैंकिङ संस्था हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend