जन आकाश
काठमाडौं । २७ मंसिरदेखि सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशनका लागि देशभरिका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ ।
काठमाडौं आइपुगेका महाधिवेशन प्रतिनिधिहरू पार्टी मुख्यालय पुगेर नेता तथा कार्यकर्ताहरूसँग भेटघाट सुरु गरिसकेका छन् । आफू निकट समूहका नेताहरूसँग भेटेर महाधिवेशनबारे चासो व्यक्त गरिरहेका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूमध्ये एक हुन्( कल्पनाकुमारी थापा चन्द । कल्पना आफ्नो काखे बालक च्यापेर महाधिवेशनमा सहभागी हुन कर्णाली प्रदेशको दैलेखबाट आएकी हुन् । कल्पना आठबिस नगरपालिकाकी उपप्रमुख समेत हुन् ।
यो चिसो मौसममा उनी आफ्ना बच्चालाई काखमा च्यापेर बिहीबार च्यासल पुगेकी थिइन् । कल्पना पार्टी महाधिवेशनलाई राजनीतिक जीवनको उत्सवको रूपमा लिन्छिन् ।
भौगोलिक हिसाबले मुलुकको संघीय राजधानीभन्दा धेरै विकट दूरीमा बसेर राजनीति गर्दै आएकी कल्पना यो चिसो मौसममा पनि बच्चा च्यापेर काठमाडौं आउन आफूलाई उत्प्रेरित गरेको सुनाउँछिन् ।
उनी भन्छिन्, ‘पार्टीको महाधिवेशन राजनीतिक जीवनको उत्सव हो । त्यसैले बच्चाका कारण यो उत्सवलाई छोड्ने कुरा पनि आएन । र, आमाको जिम्मेवारीले बच्चा छोडेर आउने कुरा पनि भएन ।’
एमाले कर्णाली प्रदेश सदस्य समेत रहेकी कल्पना ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिन्छिन् उनी भन्छिन्, ‘मुलुकको विषम परिस्थितिमा पार्टीको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । समूहमा विभाजन भएर होइन, कम्युनिस्ट पार्टीलाई एक ठाउँमा राख्ने महाधिवेशन बनाउनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend