जन आकाश
काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ।नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली र व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सामाजिक उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले नबिल बैंकले चार वर्षदेखि सञ्चालन गर्दै आएको यो कार्यक्रम अब सन् २०२८ सम्म निरन्तर चल्नेछ। बैंकका सिइओ ज्ञवालीले यस सहकार्यले सामाजिक उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए ।
नबिल एसएसईअन्तर्गत ६ महिनाको ‘फेलोसिप’ र ३ महिनाको ‘सर्टिफिकेट’ कोर्स सञ्चालनमा छन्। हालसम्म फेलोसिपमा ९६ उद्यमी सहभागी भई ६२ उद्यम स्थापना गरिएका छन् भने १४ हजारभन्दा बढीले प्रत्यक्ष लाभ पाएका छन् ।
सर्टिफिकेट कोर्समार्फत १,०६९ उद्यमी लाभान्वित भइसकेका छन् र उनीहरूले १३१ उद्यम स्थापना गरी २,६०० भन्दा बढीलाई रोजगारी सिर्जना गरेका छन्। नबिल बैंकले सिएसआर अन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता, शिक्षा, स्वास्थ्य र विपद् जोखिम न्यूनीकरण लगायत क्षेत्रमा काम गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend