जन आकाश
काठमाडौं । त्रिशूली थ्री–बी जलविद्युत आयोजनाको निर्माण ठेक्का रद्द भएपछि उत्पन्न विवादमा नबिल बैंकले चिनियाँ अदालतबाट मुद्दा जितेको छ।सो मुद्दामा काउन्टर ग्यारेन्टीबापत नबिल बैंकले करिब ७४ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब ४ करोड रूपैयाँ) पाएको हो।
त्रिशूली जलविद्युत कम्पनीले २०७४ फागुन ३० गते चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।
सम्झौताअनुसार २०७७ फागुन २९ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने भए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काम नगरेपछि कम्पनीले २०८० मंसिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो।
आयोजनाका लागि नबिल बैंकले विदेशी मुद्रामा एड्भान्स तथा पर्फर्मेन्स ग्यारेन्टी दिएको थियो भने नेपाली मुद्रामा लक्ष्मी सनराइज बैंकले बैंक ग्यारेन्टी जारी गरेको थियो।
ठेक्का रद्द भएपछि लक्ष्मी सनराइज बैंकले आफ्नो ग्यारेन्टी रकम एक साताभित्रै भुक्तानी गरे पनि चिनियाँ बैंक चाइना एभरब्राइटले काउन्टर ग्यारेन्टीको रकम दिन मानेको थिएन।
काउन्टर ग्यारेन्टी भुक्तानी रोक्न ठेकेदार कम्पनीले चीनको अदालतबाट अन्तरिम आदेश लिएको थियो, जसका कारण मुद्दा लम्बिएको थियो।अन्तिम फैसलामा नबिल बैंकको पक्षमा आदेश आएपछि बैंकले उक्त रकम प्राप्त गरेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend