logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारीमा बालेन


  • जन आकाश
  • सोमबार, पुष २८ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए।



निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।
रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।

यसबीच बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्। यसका लागि उनले आइतबार झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरे।

ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा सहितको टोलीसँग कुराकानी गरेका हुन्

अध्यक्ष पाठकका अनुसार कुराकानी क्रममा मेयर बालेन झापा–५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए।मेयर बालेनले आफ्नो टिमले झापा–५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्वेक्षण गरेको समेत जानकारी गराएका थिए।

झापा–५ ओलीको निर्वाचन क्षेत्र पनि हो। उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन्। २०६४ मा भने अध्यक्ष ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

बालेनले आइतबारै थरूहट आन्दोलनका अगुवाहरू लक्ष्मण थारू, सुरेन्द्र चौधरी लगायतसँग पनि भेटवार्ता गरेको उनको सचिवालय स्रोतले जानकारी दियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend