जन आकाश
काठमाडौं । आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो।
यसअघि आजै बिहान ५ः४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो। सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।
हिजो आइतबार भने काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो।मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हाल (सोमबार बिहान) गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा छ। तराई भूभागका केही स्थानमा हुस्सुरकुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि तराई भूभागका केही स्थानमा हुस्सुरकुहिरो रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।यस्तै राति पनि तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend