logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नबिल बैंकको अध्यक्ष बने निर्वाण चौधरी, साढे १२ प्रतिशत लाभांश पारित


  • जन आकाश
  • मंगलबार, पुष २९ २०८२

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१ औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ।  बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो।



साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।

साथै, बैंकको सोमबारै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट शपथग्रहणपश्चात् उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।

यसैैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ।उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

चालू आर्थिक वर्ष २०८२र८३ मा बैंकले ५ अर्ब (प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८ अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ।

उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ।

चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend