logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा


  • जन आकाश
  • बुधबार, माघ १४ २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।



बैंकले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो। बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो।

बैंकमा खाता खोल्नको लागि ग्राहकहरूले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रूपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन्।

यसरी खाता खोल्ने क्रममा सम्पूर्ण विवरणहरू किओस्क मेसिन मार्फत प्रदान गर्नुपर्नेछ। त्यसपछि आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ।

हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ। यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरू उपलब्ध गराइरहेको थियो।

भविष्यमा यस्ता सेवालाई अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको बैंकको भनाइ छ।बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend