जन आकाश
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ ।‘हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ । २१ माघबाट निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ’ सहायक रथी बस्नेतले जानकारी दिए
निर्वाचन लक्षित गरेर देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरुले आवश्यकता अनुसार गस्ती पेट्रोलिङ गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ ।
‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेत भन्छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो ।
९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो ।
अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरु पनि सुरु भएका छन् ।
सेनाको हवाई गस्ती, ५ ठाउँमा स्ट्याण्डबाई हेलिकप्टर
निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । विकट ठाउँहरु तथा अतिसंवेदनशील क्षेत्रहरुमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ ।निर्वाचनकै अवधि र निर्वाचन पश्चात मतपेटिका ढुवानीको काममा समेत हेलिकप्टरको प्रयोग हुनेगरी व्यवस्था मिलाइएको सहायक रथी बस्नेत बताउँछन् ।
‘हामीले सुरक्षालाई तीन चरणमा बाँडेका छौं–निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् । यी तिनै चरणहरुमा हवाई गस्तीदेखि हेलिकप्टरमार्फत मतपेटिका ढुवानीको काम हुन्छ’ सहायक रथी बस्नेतले जानकारी दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend