जन आकाश
काठमाडौं । नेपाल टेलिकमका (जिएसएम प्रिपेड) सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूले कम्पनीमा रहेको ग्राहक विवरण अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ।
गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो।यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरूले कस्टमर लगइन पोर्टल मार्फत आवश्यक विवरण भर्न सक्नेछन्।
यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटिपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्न पर्छ।
सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ। सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।
अहिले पनि धेरै ग्राहकहरूको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ। यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend