logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

साढे २ सय मिटर तल खस्यो जिप, चालकको घटनास्थलमै मृत्यु


  • जन आकाश
  • बुधबार, माघ २८ २०८२

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।



बुधबार बिहान साढे ५ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको पिक अप जिपभीरबाट झन्डै साढे दुई सय मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर देवराज भट्टराईका अनुसार जिप रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुर तर्फ आइरहेको थियो।

दुर्घटनामा जिपका चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका – ४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर भट्टराईले जानकारी दिए।

दुर्घटनामा परी सिस्ने – ४ की ३८ वर्षीया ललिता केसी, सिस्ने – २ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन् ।

घाइते मध्य ललिताको अवस्था मध्यम र आमा छोरीको अवस्था सामान्य रहेको छ। घाइते सबैलाई कपुरकोटमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लुहामका प्रहरी प्रमुख प्रहरी निरीक्षक सोम घर्ती मगरका अनुसार दर्घुटना हुँदा आमा र छोरी हुत्तिएर सडकमा पुगेका कारण जोगिएका थिए । ललिता केसी भने झन्डै २० मिटर मुनी पुगेर भिरमा पुगेकी थिइन्।

मृतक चालक भने गाडीसँगै तलै पुगेका थिए। चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको आशंका छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend