जन आकाश
विनोद नेपाली
काठमाडौं । दैलेख नेपाली काँग्रेसबाट दैलेख जिल्ला क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारी दिएका दिक्पाल शाहीले आफूलाई चुनाव हराउन सुनियोजित षड्यन्त्र गरिएको आरोप लगाएका छन्।
शाहीका अनुसार सामाजिक सञ्जालमा भिडियो क्लिप सार्वजनिक गरी आफ्नो चरित्रमाथि प्रहार गर्ने प्रयास गरिएको छ। उनले भने, “म युवाका प्रश्न सुन्ने र जवाफ दिने प्रयास गरिरहेकै बेला मैले नबोलेका कुरा काटछाँट गरेर राखियो। मलाई जथाभावी गाली गरिएको छ।”
उनले उक्त भिडियोमार्फत भ्रम सिर्जना गरी जनतालाई गलत सन्देश दिन खोजिएको दाबी गरे। शाहीले आफू निरन्तर दैलेखको विकास र जनताको सेवामा खटिँदै आएको उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन्।
उनले भने, “म सधैं जनतासँगै छु र आगामी दिनमा पनि जनआकांक्षा अनुसार निरन्तर काम गरिरहनेछु।” उक्त घटना एक सार्वजनिक कार्यक्रममा भएको थियो, जहाँ केही युवाले शाहीलाई प्रश्न गरेका थिए। त्यसै क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको बताइएको छ। शाहीले सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा फैलाइने सामग्रीप्रति सजग रहन सबैमा अनुरोध गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend