जन आकाश
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको मतदानलाई स्वच्छ र भयरहित बनाउन कडा प्रशासनिक घेरा कसेको छ। मतदानको सात दिन अगाडिदेखि नै मादक पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लागिसकेको छ। फागुन १८ गते मध्यरातदेखि प्रचारप्रसार पूर्ण बन्द हुँदै, फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सडकमा निषेध हुनेछन्। मतदानको दिन घरबाटै निस्कने योजना बनाउनु किनकि यसपटक सडक सुनसान हुनेछ।
मादक पदार्थमाथि प्रतिबन्ध कहिलेदेखि कहिलेसम्म लागू छ फागुन १४ गतेदेखि नै मादक पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लागू भइसकेको छ। यो प्रतिबन्ध निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म कायम रहनेछ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम यो निर्णय गरेको हो।
निर्वाचन प्रचारप्रसार कहिलेदेखि निषेध हुन्छ फागुन १८ गते राति १२ बजेदेखि सबै प्रकारका निर्वाचन प्रचारप्रसार गतिविधिमा पूर्ण रोक लाग्नेछ।
मतदानको दिन सवारीसाधन कहिलेदेखि कहिलेसम्म चल्न पाउँदैन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा निषेध रहनेछ।
देहायका सवारीसाधन निषेधको दायराबाहिर रहनेछन्
एम्बुलेन्स, दमकल र शव वाहन
रक्तसञ्चार सेवाका सवारीसाधन
सुरक्षा निकायका सवारीसाधन
विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मत सेवाका सवारीसाधन
कूटनीतिक नियोगका सवारीसाधन
निर्वाचन आयोगबाट पास प्राप्त सवारीसाधन
आचारसंहिता उल्लंघन गरेमा के हुन्छ निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम तत्काल कानुनी कारबाही हुनेछ जिल्ला आचारसंहिता अनुगमन समिति र गृह मन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय सक्रिय रहनेछन् ।
फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । मतदाताले सवारी निषेधलाई ध्यानमा राखी आफ्नो मतदान केन्द्र पुग्ने वैकल्पिक व्यवस्था पहिल्यै मिलाउन आवश्यक छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend