जन आकाश
काठमाडौं– श्री स्टील्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरी नियमनकारी निकायबाट स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
पूर्ण स्वचालित प्लान्ट सञ्चालन गर्दै आएको श्री स्टील्स लिमिटेड टीएमटी रिबार उत्पादनमा विशेषज्ञ मानिन्छ । कम्पनीका अनुसार नेपाल जस्तो भौगोलिक जटिलता तथा उच्च भूकम्पीय जोखिम भएको मुलुकमा बलिया तथा गुणस्तरीय संरचना निर्माणका लागि उच्चस्तरीय रड उत्पादनमा जोड दिइँदै आएको छ । कम्पनीसँग टीएमटी रिबार उत्पादनका लागि सिक्स–स्ट्यान्ड ब्लक मिलसहित जापानी प्रविधिमा आधारित अत्याधुनिक उपकरण रहेको जनाएको छ ।
विश्वस्तरीय प्रविधिको प्रयोगमार्फत गुणस्तरीय उत्पादन गर्दै नेपालको औद्योगिक आधार सुदृढ बनाउने, फलाम तथा रडजन्य पदार्थमा आत्मनिर्भरता हासिल गर्ने तथा रोजगारी सिर्जना गर्ने कम्पनीको उद्देश्य रहेको बताइएको छ ।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा श्री स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend