logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सेतो मच्छिन्द्रनाथको रथ तयार गरिँदै


  • जन आकाश
  • शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ बनाउने कार्य सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिले जानकारी दिएको छ ।



काठमाडौँ उपत्यकाका वृद्ध वृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यस पटकको सेतो मच्छिन्द्रनाथको जात्रा चैत १२ गते परेकाले तृतीयाका दिन देखि नै रथ बनाउन थालिएको हो।रथलाई बेतले बाध्‍ने गरिन्छ जसलाई नेवारी भाषामा ‘पाउ’ भन्ने गरिन्छ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

किंवदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्‍नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किंवदन्ती छ।

सोही परम्परा अनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ। उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend