logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

३ थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष


  • जन आकाश
  • सोमबार, चैत्र ९ २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रको कार्यालय समय सकिँदै थियो, कर्मचारीहरू बिस्तारै घर फर्किने तयारीमा थिए । तर नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र परिसरमा एउटा असामान्य दृश्य देखियो– एक जना वडाअध्यक्ष भने विद्युतको मिटर माग्दै वितरण केन्द्रको परिसरमा धर्ना बसे । यो कुनै पूर्वघोषित आन्दोलन थिएन, न त कुनै राजनीतिक प्रदर्शन । यो एउटा आवश्यकता थियो, जसले प्रतिरोधको रूप लियो ।



कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेपछि पनि कर्मचारीबाट मिटर उपलब्ध नहुने जवाफ पाएपछि उनले घर फर्कने बाटो रोजेनन् । बरु, विरोधस्वरुप त्यहीँ रातभर बस्ने निर्णय गरे ।

ग्रामीण भेगबाट सदरमुकामसम्मको यात्रा आफैंमा सजिलो हुँदैन । खर्च, समय र अनिश्चितताको बोझ बोकेर सेवाग्राहीहरू कार्यालय पुग्छन् । वडाध्यक्ष खड्का पनि त्यही यथार्थसँग परिचित थिए । त्यसैले ‘आज होइन, भोलि’ भन्ने जवाफ उनका लागि स्वीकार्य भएन ।

साँझ ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म लम्बियो । अँध्यारो बढ्दै गयो, तर उनी टसमस भएनन् । मिटर पाउनुपर्ने माग राख्दै उनी भुइँमै झोलाको सिरानी राखेर सुते ।

दिनभर ‘तत्काल दिन नमिल्ने’ भनिएको मिटर, अन्ततस् राति उपलब्ध गराइयो । करिब साढे १० बजेतिर वितरण केन्द्रका कर्मचारीले सेवाग्राहीका लागि मिटर उपलब्ध गराए । अनि वडाध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरे ।

जनप्रतिनिधि आफैं धर्नामा बस्नुपर्ने अवस्था सामान्य होइन । यसले एउटा गहिरो सन्देश दिएको छ– यदि जनप्रतिनिधि नै यसरी संघर्ष गर्न बाध्य छन् भने, सर्वसाधारण नागरिकको अवस्था कस्तो होला रु यो घटनाले सेवा प्रणालीभित्रको असन्तुलनलाई उजागर गरेको छ जहाँ प्रक्रिया र व्यवहारबीच दूरी छ र त्यो दूरीले नागरिकलाई सास्ती दिएको छ ।

वडाध्यक्षको धर्ना तोडिएसँगै सेवा प्रवाहलाई छिटो र सहज बनाउने सहमति पनि भएको बताइएको छ । तर नेपालजस्ता सन्दर्भमा सहमति नयाँ होइन, चुनौती त्यसको कार्यान्वयनमा हुन्छ ।

सल्यानको यो घटनाले सेवा प्रवाहमा प्रक्रिया आवश्यक छ, तर त्यसलाई मानवीय बनाउनु अझ आवश्यक छ भन्ने उजागर गरेको छ । सेवा प्रणाली कागजमा होइन, नागरिकको अनुभवमा मापन हुन्छ । सरकारको सफलता र असफलता पनि त्यसैमा निर्भर रहन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend