logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कांग्रेस इतिहासकै कमजोर बन्यो, देउवालाई बाहिर राखेर महाधिवेशन हुन सक्दैन,प्रकाशशरण महत


  • जन आकाश
  • बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतलले पार्टी जटिल अवस्थामा पुगेकोले एक भएर महाधिवेशन गर्नुको विकल्प नभएको बताएका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै महतले विशेष महाधिवेशनका कारण कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेकोले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई समेटेरमात्र महाधिवेशन मिति तोक्नुपर्ने बताएका हुन्।



विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि महतले यस्तो वक्तव्य जारी गरेका हुन्।

‘नियमित अधिवेशन गर्नको लागि विशेष अधिवेशनमा जोडिएका र विशेष अधिवेशनमा नजोडिको ठूलो पार्टी पंक्ति, शेरबहादुर देउवालगायतलाई एउटा साझा विन्दु खोजेरनियमित अधिवेशन सम्पन्न गर्न एउटा आयोजक समितिजस्तो बनाएर अगाडि बढ्यो भने अब आउने नेतृत्वलाई सर्वस्वीकार्य रुपमा मानेर अगाडि बढ्ने परिस्थिति निर्माण हुन्छ,’ महतले भनेका छन्, ‘अहिले आआफ्नो हिसाबले अधिवेशन घोषणा गरेर जाने कुराले पनि समाधान दिँदैन।’

उनले यसका लागि सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने पनि सुझाएका छन्। विशेष महाधिवेशनबाट गत पुस अन्तमा गगन सभापति बनेसँगै देउवा पक्ष पार्टी आधिकारिकताको दाबी गर्दै सर्वोच्च पुगेको थियो। उक्त मुद्दाको सुनुवाई फागुन २२ गते हुने बताइएको छ।

फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट १ बाट उम्मेदवार रहेका महतले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको उल्लेख गरेका छन्। उनी सो क्षेत्रबाट पराजनित भएका थिए।

‘अहिले नेपाली कांग्रेस पार्टी एउटा जटिल र चुनौतीपूर्ण अवस्थामा छ। र हामीले जम्मा ३८ सिट मात्रै संसदमा हाम्रो छ। यो अहिले सम्मकै अत्यन्त न्यून संख्या हो,’ भिडियो सन्देशमा महतले भनेका छन्।

कांग्रेस निर्वाचनबाट कमजोर बनेसँगै एक पक्षले अर्कोलाई आलोचना गरिरहेको छ। महतले भने अब एकले अर्कोलाई गाली गर्नुभन्दा एकताको साझा विन्दु खोज्नुपर्ने बताएका छन्।

‘अहिले चाहिँ एक अर्का गालीगलौज गर्ने। यो पक्ष चाहिँ यस्तो उस्तो भन्ने अहिले पनि म चाहिँ सामाजिक सञ्जाल मिडियामा देख्छु। यो रोगबाट चाहिँ नेपाली कांग्रेस साथीहरु चाहिँ मुक्त हुन जरुरी छ,’ महतले भनेका छन्, ‘त्यसले परिणाम दिँदैन र पार्टीको हित गर्दैन। यो चुनौतीलाई हामीले संयुक्त रुपमा साझा रुपमा सामना गर्न सक्दैनौ भन्ने पनि मेरो ठहर छ।’ उनले एकतामा जोडिने परिस्थिति निर्माण गर्न योगदान पुर्‍याउन सबै तहको भूमिका जरुरी रहेको पनि बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend