logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एकपछि अर्को भेलाको तयारीमा देउवा पक्ष


  • जन आकाश
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विभिन्न भेलाहरू गर्ने तयारी गरेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने, २०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राख्ने र जिल्ला सभापतिहरूको पनि भेला गर्ने गरी देउवा पक्षले तयारी गरेको हो।



गत पुसमा विशेष महाधिवेशन हुँदा देउवा पक्ष सहभागी भएको थिएन। गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका नेताहरूलाई बालेन शाह नेतृत्वको सरकारबाट पक्राउलगायत र भावी रणनीतिलगायत विभिन्न विषयमा छलफल गरी निचोडमा पुग्न देउवा पक्षले एकपछि अर्को बैठकको तयारी गरेको नेताहरूले जनाएका छन्।

देउवा स्वदेशमा छैनन्। उनले गत असोज २८ गते नै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका थिए। देउवा पक्षबाट खड्काले नै विभिन्न छलफलहरू राख्दै आएका छन्। देउवा उपचारका लागि हङकङमा छन्।

देउवा विदेशमा रहेका बेला उनको समूहले यहाँ विभिन्न भेलाहरू गर्न लागेको हो।नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम आज राखिएको नेताहरूको भनाइ छ। कांग्रेसबाट प्रतिनिधि सभामा ३८ जना सांसद छन् भने गत माघमा राष्ट्रिय सभामा ९ जना निर्वाचित भएका थिए।

साथै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक मंगलबार र बुधबार राख्ने तयारीमा देउवा पक्ष छ। साथै चैत १९ गते जिल्ला सभापति भेला गरिने पनि नेताहरूले बताएका छन्।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको भन्दै संस्थापन पक्ष असन्तुष्ट छ। थप विज्ञप्ति जारी गरे क्रियाशील सदस्यता नवीकरण नगर्ने चेतावनीसमेत दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend