जन आकाश
काठमाडौं । सुदूरपश्चिममा हाल रोगको प्रकृतिमा ठुलो बदलाव आएको छ। खास गरेर तराईको जिल्ला कैलालीमा रोगको बदलाव आएको देखिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार विगतमा सरुवा रोगको महामारी खेपेको यस जिल्लामा अहिले मुटु, मधुमेह र क्यान्सरजस्ता नसर्ने रोगका बिरामी ह्वात्तै बढेका छन्। खुला भारतीय सीमाका कारण नयाँ सङ्क्रमणको जोखिम कायम रहे पनि परम्परागत सरुवा रोग भने कम देखिने गरेको छ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७९र८० मा २८ हजार ४ सय २० जनामा देखिएको झाडापखालाको सङ्क्रमण अहिले घटेर ९ हजार १ सय ४९ मा आइपुगेको छ। त्यसैगरी, एक हजार ८१ जनामा रहेको डेंगु सङ्क्रमण हाल २ सय २४ मा झरेको छ। जिल्लामा मातृ र नवजात शिशु मृत्युदरमा पनि भारी गिरावट आएको छ।
आव २०७९र८० मा १५ जना सुत्केरी आमाहरूले ज्यान गुमाएकोमा आव २०८२र८३ सम्म आइपुग्दा यो सङ्ख्या ४ मा सीमित भएको छ। यस्तै, नवजात शिशुको मृत्युदर पनि १५३ बाट घटेर ३४ मा झरेको छ। अहिले सुरक्षित प्रसूति सेवामा पहुँच बढेपछि नवजात शिशुको मृत्युदर घटेको बताइएको छ।
प्रदेशका ८८ वटा स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका सुरक्षित प्रसूतिको हब नै बनेको छ। तथ्यांक अनुसार यहाँ वार्षिक ९ हजारभन्दा बढी महिलाले संस्थागत सुत्केरी सेवा लिइरहेका छन्। जिल्लाभर हाल ५ वटा सरकारी र ३४ वटा निजी अस्पतालसहित कुल १ सय ८३ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। ८१ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २४ वटा सामुदायिक स्वास्थ्य एकाइले गाउँसम्म सेवा पुर्याउने प्रयास गरेका छन्।
कैलालीमा समेत भौगोलिक विकटताका कारण सेवाको वितरण भने असमान छ। धनगढी, टीकापुर, गोदावरी, लम्की र बर्दगोरियाजस्ता सुगम पालिकाहरूमा विशेषज्ञ सेवा सहज बन्दै गएको छ भने चुरे र मोहन्यालजस्ता पहाडी गाउँपालिकामा अहिलेसम्म एउटा प्राथमिक अस्पतालसमेत बन्न सकेको छैन। त्यहाँका नागरिक सामान्य उपचारका लागि पनि घण्टौँ धाएर सहर झर्न बाध्य छन्। एम्बुलेन्स सेवा पुगे पनि दुर्गम भेगका बिरामीले आकस्मिक अवस्थामा उपचार पाउन मुस्किल छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend