logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

फेवाताल किनारमा डोजर चलेपछि पीडित जग्गाधनीहरू आन्दोलित, संघ सरकारलाई पठाए ज्ञापनपत्र


  • जन आकाश
  • आइतबार, चैत्र २२ २०८२

काठमाडौं । पोखराको फेवाताल मापदण्ड कार्यान्वयनका लागि भन्दै शनिबार बिहानै डोजर चलाइएपछि पीडित जग्गाधनीहरू आन्दोलित भएका छन् उनीहरूले आइतबार गैरी चौतारादेखि जिल्ला प्रशासन कार्यालयसम्म शान्ति र्‍याली गरेका हुन् । पीडित जग्गाधनीहरुले लालपुर्जा भएका जग्गाको मुआब्जा माग गरेका छन् ।



प्रमुख जिल्ला अधिकारी मार्फत संघ सरकारलाई ज्ञापन पत्र पठाइएको छ । शनिबार तालको ६५ मिटर मापदण्ड भित्र रहेका ३२ वटा अस्थायी संरचनामा डोजर लगाइएको छ । यो क्रम निरन्तर चल्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । सर्वोच्च अदालतले पनि दूषित र उचित जग्गाको निक्र्यौल गरेर दूषित दर्ता खारेजको आदेश दिएको छ ।

बाँकी जग्गाको भने मुआब्जा दिन भनेको छ । पीडितहरूले फेवाताल संरक्षणका नाममा वैज्ञानिक अध्ययन बिना ६५ मिटर मापदण्ड तोकिएको र मध्यरातमा नागरिकको घरबास उठाइएको भन्दै आक्रोशित भएका हुन् । सरोकार समितिले हाइड्रोलोजिकल र वैज्ञानिक आधार बिना, व्यक्तिगत सनकका भरमा मापदण्ड ल्याइएको आरोप लगाएको छ ।

‘स्थिर पानीको सतह सधैँ समतल हुन्छ भन्ने सामान्य सिद्धान्तलाई समेत लत्त्याएर गरिएको सीमांकन अवैधानिक छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मध्यरातमा नागरिक सुतिरहेको अवस्थामा डोजर चलाउनु अमानवीय र संवैधानिक हकको ठाडो उल्लंघन हो ।’ समितिले मापदण्ड कार्यान्वयन गर्दा १ सय वर्षभन्दा पहिलेदेखि बसोबास गर्दै आएका पुराना गुरुङ बस्ती र पुर्ख्यौली पेसामा आश्रित जलारी समुदायको पहिचान मेटिने खतरा हुने गुनासो गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend