logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु


  • जन आकाश
  • मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।



मंगलबार एकडारा गाउँपालिका–५ स्थित बखरी चोकबाट करिब २ सय मिटर उत्तरतर्फ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ।मोटरसाइकलमा सवार विद्यार्थीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका–६ का सुभाष दास, सोही स्थानका रवि दास तथा एकडारा गाउँपालिका–३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ धोबौलीका अजय कापर, सोही ठाउँका अभय कापर र एकडारा ५ बथनाहाका रोहित दास रहेका छन्। प्रहरीका अनुसार दुवै मोटरसाइकलमा तीन–तीन गरी ६ जना सवार थिए। घटनामा मृत्यु भएकाहरू एसईई परीक्षा दिई फर्किरहेका विद्यार्थी रहेको बुझिएको छ।

दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार अजय कापरको प्रादेशिक अस्पताल जनकपुरधाम र बाँकी दुई जनाको जनकपुरधामकैरामजानकी हस्पिटलमा उपचार भइरहेको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ।दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो वा अन्य कारणले भएको हो भन्नेबारे यकिन भइसकेको छैन भने मोटरसाइकल जलेको कारण मोटरसाइकल नम्बरसमेत खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend