logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कर्णाली प्रदेश सभाका सचिव बुढाथोकीले दिए राजीनामा


  • जन आकाश
  • बुधबार, चैत्र २५ २०८२

काठमाडौं । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन्।बुधबार बुढाथोकीले सचिवबाट राजीनामा दिएका हुन्। बुढाथोकीले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएको प्रदेश प्रमुख कार्यालय कर्णाली प्रदेशकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन्।



‘राजीनामा पत्र कार्यालयमा आज प्राप्त भएको छ,’ काउचाले भनिन्, ‘उक्त पत्रमाथि छलफल गरेपछि राजीनामा स्वीकृतको जानकारी गराउनेछौँ।’बुढाथोकी २०७६ जेठ १२ मा प्रदेश सचिव नियुक्त भएका थिए। त्यसपछि उनि २०८१ जेठ १३ मा दोस्रोपटक पुनः प्रदेश सभा सचिवमा दोहोरिएका थिए।

६५ वर्ष उमेर पूरा भए पनि पदबाट राजीनामा नदिएपछि उनको चौतर्फि आलोचना भएको थियो। २०१७ चैत ४ गते जन्मिएका बुढाथोकी २०८२ चैत ४ गते ६५ वर्ष पूरा भएका थिए। प्रदेश सभा सचिवालयसम्बन्धी ऐन, २०७५ को दफा ८ को खण्ड घ, मा सचिवको योग्यता ४० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। तर, सचिव बुढाथोकीको उमेर हद ६५ वर्ष पूरा भएको २१ दिनपछि राजीनामा दिएका हुन्।

कर्णाली प्रदेश सभा सचिवालयको सचिव पदमा सात वर्ष बिताएका बुढाथोकी विवादित छवि बनाएर बाहिरिएका छन्। दोहोरो सुविधा लिनेदेखि स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर भुक्तानी लिएको भन्दै उनको आलोचना भएको थियो।

यस्तै, दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो। त्यसपछि उनले ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेको भौचर समेत बाहिरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend