जन आकाश
काठमाडौं । सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो बारेमा झूटो प्रचार गरिएको गुनासो गरेका छन्।
देउवाले पक्राउ पुर्जी जारीपछि बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिलाई लिएर भ्रामक प्रचार गरिएको गुनासो गरेका हुन्। सार्वजनिक पदमा रहँदा आफूले सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा बुझाएको उल्लेख गरेका छन्।
‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्, ‘नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु।’
उनले पारदर्शीताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यतित गरेको भन्दै आफ्नो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको बताएका छन्।
देउवाले आफ्नो उपचार जारी रहेको उल्लेख गरेका छन्। उनले स्वदेश कहिले फर्किने भन्नेबारेमा केही भनेका छैनन्।
‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु, ‘वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरंजना गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’
देउवा उपचारका लागि भन्दै विदेश गएको एक महिना नाघिसकेको छ। फागुन २१ गतेको निर्वाचन छल्न १३ गते सिंगापुर गएका देउवा अहिले हङकङमा छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend