logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीले कक्षा लिनुपर्ने


  • जन आकाश
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीलाई एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गरेको छ। मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी गरी अस्पताल सुधारका लागि विभिन्न व्यवस्था गरेको हो।



कार्यविधिको जनशक्ति व्यवस्थापन र आचरण खण्डमा कर्मचारीको आचरणबारे उल्लेख छ।त्यसमा सेवाग्राहीसँग नम्र व्यवहार गर्ने र म तपाईंलाई के सहयोग गर्न सक्छु भन्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख छ।

रूखो व्यवहार गर्ने कर्मचारीलाई कार्यालय समयपछि एक घन्टाको सफ्ट स्किल सेसनुमा सहभागी गराउने व्यवस्था पनि अस्पतालले गर्नुपर्ने उल्लेख छ। कार्यविधिमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गरी अनुगमनका लागि एक सम्पर्क व्यक्ति तोक्नुपर्ने उल्लेख छ। ड्युटीमा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने पनि उल्लेख छ।

कार्यविधिमा सेवाग्राहीको चाप बढी हुने अस्पतालले टिकट र क्यास काउन्टर थप गरी भीड व्यवस्थापन गर्न भनेको छ। टिकट तथा क्यास काउन्टरमा असहाय, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती र आकस्मिक बिरामीलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

प्रयोगशाला परीक्षण तथा रेडियो ईमेजिङ्ग सेवाका सम्भव हुने सबै प्रतिवेदनहरू २४ घण्टाभित्र उपलब्ध गराउन भनिएको छ।
अस्पतालले अनलाइन बुकिंग र रिपोर्ट डिस्प्याच प्रणाली लागू गर्नु पर्ने र सेवा विन्दुहरूमा डेडिकेटेड हाई स्पिड ईन्टरनेट सेवा सुनिश्चित गर्न पनि भनिएको छ।सरकारी अस्पतालहरूलाई आफ्नै सुलभ फार्मेसी सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। साथै चिकित्सकले औषधि सिफारिस गर्दा फार्मेसीमा उपलब्ध औषधिको सूची अनुसार प्रेस्क्रिप्सन लेख्नुपर्ने भनिएको छ। आकस्मिक उपचारका लागि आएका बिरामीलाई आफ्नोमा सेवा नभए अन्य सरकारी अस्पतालमा फोनमार्फत समन्वय गरी प्रेषण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend