जन आकाश
काठमाडौं । सोमबार प्रकाशित पत्रपत्रिकाहरूले पहिलो पृष्ठमा समाचार प्रकाशित नगरी प्रश्न वाचक चिह्न छापेका छन् । काठमाडौंबाट प्रकाशित दैनिकहरू नेपाल समाचारपत्र, कारोबार, राजधानी, आर्थिक अभियान, सौर्य, मध्यान्ह, प्रभाव, प्रक्षेपणलगायतले प्रश्न वाचक चिह्न छापेका हुन् ।
मोफसलबाट प्रकाशित ब्लास्ट टाइम्स, बुटवल टुडे, दैनिक पत्र, लुम्बिनी, सुदूर सन्देश, मिशन टुडे, काँक्रेविहारलगायतका दैनिकले पनि पहिलो पृष्ठमा समाचार प्रकाशित गरेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते सूचना प्रकाशित गर्दै निजी सञ्चारमाध्यममा सार्वजनिक निकायका सूचना नछाप्ने निर्देशन दिएको थियो । उक्त निर्णय विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।
सार्वजनिक निकायका सार्वजनिक खरिदलगायत सूचनाहरू सरकारी सञ्चारमाध्यम मात्र प्रकाशित प्रसारित गर्ने सरकारको निर्णय विरुद्ध समाचार प्रकाशित हुने स्थानमा प्रश्न वाचक चिह्न प्रकाशन गरेको प्रकाशकहरूले बताएका छन् ।
मिडिया एलायन्स र मिडिया सोसाइटीसँगको परामर्शमा पत्रपत्रिकाले प्रश्न वाचक चिह्न छापेको मध्याह्न दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘संवैधानिक र कानूनी अधिकार खोस्ने सरकारको निर्णयलाई हामी प्रश्न गरेका हौं ।’
पत्रपत्रिकाले गरेको आन्दोलनमा आफूहरूको समर्थन रहेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् । सरकारको निर्णय संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको उनको भनाइ छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend