logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देशव्यापी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


  • जन आकाश
  • आइतबार, बैशाख ६ २०८३

काठमाडौं । आज र भोलि देशव्यापी रूपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाउन सुरु गरिएको हो । यो क्रममा नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।



बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् । पछिल्लो अध्ययनले पाँच वर्षभन्दा मुनिका बालबालिका मध्ये ११ प्रतिशतलाई भिटामिन ‘ए’ कमी भएको देखिएको छ ।

‘यो जनस्वास्थ्य मध्यम समस्याको रूपमा रहेको छ । अझै पनि बालबालिका रगतको भिटामिनमा ‘ए’ कमी छ’, थापा भन्छन्, ‘भिटामिन ‘ए’ प्राप्त हुने स्रोत बालबालिकाले कम खाएको देखिन्छ ।’

चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनीर, गिरीदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलजम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रंगका फलफूल भिटामिन ‘ए’ का स्रोत हुन् ।

भिटामिन ‘ए’ ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ । यो कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर जिल्लामा सञ्चालन हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend