जन आकाश
काठमाडौं । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त र पक्राउ गर्न माग गर्दै प्रहरीमा औपचारिक निवेदन दिएको छ।मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार, गृहमन्त्री पदमै रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने भन्दै उनलाई तत्काल पदबाट हटाएर हिरासतमा राख्न माग गरिएको हो।
निवेदनमा गृहमन्त्री गुरुङ पदमा रहँदा आफूविरुद्धको छानबिन प्रक्रियालाई प्रभावित पार्न सक्ने र यो ’स्वार्थको बाझिने’ विषय हुने उल्लेख गरिएको छ। प्रवक्ता शाहले मन्त्रीको ओहोदामा रहेर आफ्नै विरुद्धको अनुसन्धान हुन नसक्ने भएकाले यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको प्रचलित कानुन विपरीत भएको बताए ।
मन्त्री पदमै रहँदा प्रमाणहरू नष्ट हुन सक्ने र न्यायमा अवरोध पुग्न सक्ने देखिएकाले उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।जेनजी मुभमेन्टले मन्त्री गुरुङमाथि आन्दोलनलाई हिंसात्मक बनाएको, र व्यक्तिगत फाइदाका लागि बिचौलियासँग साँठगाँठ गरेको गम्भीर आरोप पनि लगाएको छ।
मुभमेन्टले चार बुँदे मागमा तत्काल बर्खास्त, पक्राउ र हिरासत, निष्पक्ष र दबाबमुक्त अनुसन्धान, अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेके छ । प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। प्रहरीले भने यसबारेमा केही बताएको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend