जन आकाश
काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाइएको रिट सर्वोच्च अदालतमा दायर भएको छ। बुधबार आठ जना अधिवक्ताले महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन्।
उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ।महान्यायाधिवक्ता कँडेलको नियुक्ति संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारित योग्यता नपुगेको दाबी छ।राष्ट्रपतिले चैत २२ गते उनलाई गरेको नियुक्ति र प्रधानन्यायाधीशबाट भएको शपथ समेत बदर गर्न माग गरिएको छ।
यो मुद्दाको अन्तिम किनारा नलागुन्जेल महान्यायाधिवक्ताको हैसियतमा कुनै पनि काम नगर्नूरनगराउनू भनी अन्तरिम आदेश समेत माग गरेको छ।
यसअघि पनि महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउँदै रिट पेस भएको थियो। तर उक्त रिट दरपीठ भएको थियो। संविधानको धारा १५७ (३) ले सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्तका लागि योग्य हुने व्यवस्था उल्लेख छ।
संविधानको धारा १२९ (५) मा प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशको योग्यता उल्लेख छ।महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रूपमा ख्याति प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।रिट निवेदकले कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको दाबीसहित योग्यता नपुगेको दाबी गरेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend