logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गोयलापानी समाजको चौथो साधारण सभा, क्यालेन्डर लोकार्पण तथा सम्मान कार्यक्रम धनगढीमा सम्पन्न


  • जन आकाश
  • मंगलबार, बैशाख १५ २०८३

 



धनगढी, कैलाली ( गोयलापानी थातथलो भई देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा वि.सं.२०७५ सालमा स्थापित गोयलापानी समाजले आफ्नो चौथो साधारण सभा, क्यालेन्डर लोकार्पण तथा सम्मान कार्यक्रम धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा समाजका सदस्य, शुभेच्छुक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष प्राज्ञ यज्ञराज उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका पूर्वमन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा शैक्षिक तथा बौद्धिक व्यक्तित्व ध्वजबहादुर कुँवर र साहित्यकार हर्षप्रसाद भट्ट विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने चन्द्रदेव भण्डारी, महादेव जोशी, मोतीलाल सुवेदीलगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रम राष्ट्रिय गानबाट प्रारम्भ भई उद्घाटन समाजको मौलिक परम्पराअनुसार दीप प्रज्वलन, हुड्के, शंखघण्ट ध्वनि तथा स्वस्ती वाचनसहित उद्घाटन गरिएको थियो।

साधारण सभाले प्राज्ञ यज्ञराज उपाध्यायलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रेमभक्त रेग्मी र पदमराज रेग्मी, महासचिवमा राहुल रेग्मी, सचिवमा डण्डीराज रेग्मी, सहसचिवमा नन्दराज भण्डारी तथा कोषाध्यक्षमा पदमराज रेग्मी चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा रेनुका देवी रेग्मी, मिनप्रसाद रेग्मी, लोकेश रेग्मी, मनीराज रेग्मी, प्रभुनाथ रेग्मी, जयराज रेग्मी, रामचन्द्र रेग्मी, बद्रीप्रसाद रेग्मी, सूर्यप्रसाद रेग्मी, महेशराज रेग्मी र भीष्मराज उपाध्याय चयन हुनुभएको छ। २१ सदस्यीय कार्यसमितिका बाँकी सदस्यहरू पछि मनोनयन गरिने महासचिवले जानकारी दिनुभयो। नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

कार्यक्रममा वि.सं. २०८३ सालको नयाँ वर्षको क्यालेन्डर पनि लोकार्पण गरिएको थियो। साथै ‘सम्मान कार्यक्रम २०८३’ अन्तर्गत शिक्षा, साहित्य, सामाजिक तथा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका विशिष्ट व्यक्तित्वहरू ध्वजबहादुर कुँवर, हर्षप्रसाद भट्ट, चन्द्रदेव भण्डारी, धनञ्जय रेग्मी, भोजराज रेग्मी, सिद्धराज रेग्मी, चन्द्रदेव रेग्मी, मेघराज रेग्मी, दुर्गादेवी रेग्मी, झुमादेवी रेग्मी, धर्मी भुल, हिरे लुहार र नवराज दमाईलाई सम्मान गरिएको थियो।

समाजका महासचिव राहुल रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै गोयलापानी समाजको स्थापना, उद्देश्य तथा भावी कार्यक्रमहरूको बारेमा प्रकाश पार्दै समाजलाई अझ संगठित, सक्रिय र प्रभावकारी बनाउँदै लैजान सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो। कार्यक्रममा महासचिव राहुल रेग्मीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष पदमराज रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले गोयलापानी समाजले सामाजिक एकता, संस्कार संरक्षण, आपसी सद्भाव र भावी पुस्तालाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। कार्यक्रमले समाजलाई अझ सुदृढ, संगठित र गतिशील बनाउने विश्वास व्यक्त गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend