logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुकुम्बासी समस्या समाधान गर्न काम सुरु गरिसकेका छौं, कसैलाई पनि घरबारविहीन बनाउँदैनौं’


  • जन आकाश
  • सोमबार, बैशाख २१ २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्।काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी वस्तीमा डोजर चलाइएको विषयलाई लिएर कतिपयले आलोचना गरिरहँदा बालेनले सोमबार फेसबुकमार्फत उनीहरुका लागि सुरक्षित बासको व्यवस्था गर्ने प्रष्ट पारेका छन्।



उनले सुकुम्बासी समस्या दिगो रुपमा समाधानका लागि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी आवश्यक काम अगाडि बढाइसकेको बताएका छन्।‘भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ,’ उनले भनेका छन्, ‘यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफा अध्यादेशमार्फत खारेज गरिएको छ।

कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।’

बालेनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गर्ने उल्लेख गरेका छन्। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा सरकारले आवश्यक निर्णय गर्ने बालेनले बताएका छन्।

‘सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्,’ उनले भनेका छन्, ‘सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend