logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समीक्षा बैठक राख्ने बाहेक सबथोक गर्दैछन् ओली


  • जन आकाश
  • सोमबार, बैशाख २८ २०८३

काठमाडौं । पित्तथैलीको शल्यक्रिया गरेर गुन्डुमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सक्रियता बढेको छ ।पार्टीभित्र र बाहिरका नेताहरूलाई गुन्डुमै बोलाएर अथवा टेलिफोन मार्फत ओलीले संवाद गरिरहेका छन् । उनको बढ्दो राजनीतिक गतिविधि सामाजिक सञ्जालमै देखिन थालेको छ ।



आइतबार दिउँसो मात्र एमालेका युवा नेता अब्दुस मियाँले ओलीसँग भेटवार्ता गरेको तस्वीर सार्वजनिक गरे । त्यो तस्वीर राजनीतिक सन्देश दिनेगरी सार्वजनिक गरिएको छ । तस्वीरमा ओली बस्ने कुर्सीमा मियाँ छन् भने ओली आगन्तुक कुर्सीमा बसेका छन् ।

स्रोतका अनुसार ओलीकै चाहनामा यस्तो तस्वीर लिइएको हो । ‘फोटो खिच्ने बेलामा आफू बस्ने कुर्सीमा अब्दुस मियाँलाई बस्न भन्नुभयो, र अर्को कुर्सीमा आफू बस्नुभयो,’ स्रोत भन्छ । अब्दुस सँगै गएका अर्का युवालाई बायाँ तर्फ राखेर ओली बीचमा बसेका छन् ।

मियाँले आफूहरू स्वास्थ्य अवस्था बुझ्न गुन्डु पुगेको बताए । ‘आराम गरिरहनुभएको थियो । स्वास्थ्य अवस्था बुझौं भनेरै त्यहाँ गएको हो,’ मियाँले अनलाइनखबरसँग भने, ‘राजनीतिक कुराकानी खासै भएन ।’ तर स्वास्थ्य अवस्था सुध्रिदै गएकाले राजनीतिक सक्रियता बढ्ने संकेत भने ओलीले दिए ।

‘स्वास्थ्य सुधार हुँदै गएकाले अब सक्रियता बढ्छ भन्ने संकेत चाहिँ उहाँले गर्नुभयो’, मियाँ भन्छन् । ओली बस्ने कुर्सीमा आफूलाई राखिएकोबारे भने उनले अनविज्ञता प्रकट गरे ।

आफू बसिरहेको कुर्सी मियाँका लागि छोडेर ओलीले दिन खोजेको सन्देश समायन्तरमा थाहा होला । तर ओलीको राजनीतिक सक्रियता बढेको बुझाउने यो एक पछिल्लो उदाहरण हो ।

पछिल्लो हप्ता हरेकजसो दिन ओलीको राजनीतिक गतिविधिका सन्देश सार्वजनिक भइरहेका छन् । ‘कतिपय भेटवार्ताको तस्वीर सार्वजनिक भएका होलान्, कति नभएका होलान्,’ एमालेका एक नेता भन्छन्, ‘अध्यक्षको भेटवार्ता बढेको छ ।’
अब्दुस मियाँसँग केपी ओली । यो तस्वीरमा ओलीको कुर्सीमा मियाँ बसेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend