logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई


  • जन आकाश
  • मंगलबार, बैशाख २९ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई दिएका छन्।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री गीतालाई राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्ष नियुक्त गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।



प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार, ऐनको व्यवस्था बमोजिम प्रधानमन्त्री कोषको संरक्षक रहने र संरक्षकले नै अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ।

सोही अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले वनमन्त्री गीतालाई अध्यक्षमा नियुक्त गरेका हुन्। यसअघि कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ थिए। अन्तरिम सरकार प्रमुख प्रधानमन्त्री सुशीला कार्कीले आफू जाँदाजाँदै आदर्शलाई अध्यक्ष नियुक्त गरेकी थिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै त्यसअघि राजनीतिक नियुक्ति लिएका १ हजार ५९४ जना पदमुक्त भएका थिए। त्यसमा कोषका अध्यक्ष रहेका आदर्शको पनि जागिर गएको थियो। रिक्त रहेको सोही पदको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई दिइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend