जन आकाश
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले पहिलो चरणमा फोरजी सेवाकै पूर्ण कार्यान्वयनलाई प्राथमिकतामा राखिएको र क्रमशः फाइभ जीमा जाने बताएका छन्।
पत्रकार भेटघाट कार्यक्रममा उनले फाइभ जी सेवा सञ्चालनका लागि प्रति मेगाहर्ज ४० लाख रूपैयाँसम्म लाग्ने प्रारम्भिक आकलन गरिएको बताएका छन्।उनले दूरसञ्चार पूर्वाधार विस्तार, सेवा गुणस्तर सुधार तथा नयाँ प्रविधि विस्तारलाई सरकारको प्राथमिक एजेन्डा बनाइएको उल्लेख गरे।उनले तेस्रो टेलिकम कम्पनी सञ्चालनका लागि आवश्यक सर्भे प्रक्रिया अघि बढी सकेको पनि जानकारी दिए।प्रतिस्पर्धा बढाएर सेवा पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले सरकार अध्ययन प्रक्रियामा अघि बढेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनमा दुरुपयोग भएको गुनासो आएको भन्दै त्यसको छानबिन गरिने बताए।सरकारले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको पक्षमै रहेर काम गरिरहेको उनको दाबी थियो।
नेपाल टेलिकममा सरकारको ठूलो लगानी रहेको उल्लेख गर्दै उनले संस्थाको सेवा प्रणालीलाई थप व्यवस्थित बनाउन बुकिङ सिस्टम लागु गर्ने विषयमा नियमअनुसार काम भइरहेको बताए।
त्यस्तै, स्मार्ट टेलिकम सम्बन्धी विषय छानबिन प्रक्रियामा गएको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले प्रणालीगत भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको बताए।मन्त्रालयअन्तर्गतका संस्थानहरूमा नेतृत्व नियुक्तिको प्रक्रिया पनि अघि बढिरहेको उनले बताए।कतिपय संस्थानमा काम प्रभावित भएको अवस्थामा आवश्यक परे निमित्त तोकेर काम अगाडि बढाइने उनको भनाइ थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend