logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नआओस् , तर आफ्नै श्रीमतीको हत्या गरे


  • जन आकाश
  • आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं । नेपाली सेनाको सुबेदार दर्जामा कार्यरत ईश्वरी भुजेल शुक्रबार राति आफ्नो ड्युटी सकेर घर फर्किँदै थिइन् । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङस्थित पैयुँटारमा उनी दुईभाइ छोरासँग बस्थिन् ।



‘नेपाली ब्रो’ भनेर परिचित कुमार थापा उनका श्रीमान् हुन् । तर दुईबिच केही समययता सम्बन्ध कटुतापूर्ण थियो । सोही कारण ४२ वर्षीय थापा कहिलेकाहीँ मात्र घरमा पुग्थे ।

ईश्वरी कार्यालयबाट स्कुटरमा घर पुग्नमात्रै के लागेकी थिइन्, बाटो ढुकेर बसेका कुमारले उनलाई अकस्मात् झम्टिए । ईश्वरीमाथि उनले मध्यराति १० बजेर १० मिनेटमा इट्टा, ढुङ्गा र धारिलो हतियार प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटना थाहा पाएपछि छिमेकी र आफन्तले ईश्वरीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा लगेका थिए । चिकित्सकले त्यही उनलाई मृत घोषणा गरेका थिए । शव शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।

घरायसी विवाद बढ्दै जाँदा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘दुई जनाको बिचमा अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेको देखिन्छ ।’

प्रहरीका अनुसार ईश्वरीले कुमारविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त बालाजुमा दर्ता भएर सो जाहेरीमाथि अनुसन्धान गरेर सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरेको थियो । सो मुद्दा अदालतमा चलिरहेको छ ।

वैवाहिक बलात्कार मुद्दा चलिरहँदा उनीहरूको बिचको विवाद झन् बढेको थियो । सोही कारण प्रहरी वृत्त बालाजुमा घरेलु हिंसाको निवेदन आउने र छलफल हुने प्रक्रिया जारी थियो ।

२०८२ भदौ २३ मा जेनजी आन्दोलन हुनुअघि पनि प्रहरीले दुवै जनालाई राखेर ‘शान्ति सुरक्षा’ सम्बन्धी कसुरमा छलफल गराएको थियो । प्रहरी वृत्त बालाजुका एक जना अधिकृतका अनुसार शान्ति सुरक्षाको निवेदनमा छलफल भएर मिलापत्र पनि भएको थियो । ती अधिकृत भन्छन्, ‘जेनजी आन्दोलन अघि उहाँहरूको बिचमा हाम्रो कार्यालयमा बसेर छलफल र मिलापत्र भएको देखिन्छ ।’

एसपी पवन भट्टराई पनि घरेलु हिंसामा पटक पटक निवेदन आउने र मिलापत्र हुने गरेको देखिएको बताउँछन् । उनी भन्छन्, ‘सो श्रृङ्खला बढ्दै जाँदा सम्बन्ध निकै कटुतापूर्ण अवस्थामा पुगेको देखिन्छ ।’

यही तनावपूर्ण स्थितिका बिच कुस्तीबाज समेत रहेका कुमारले सामाजिक सञ्जालमा आफ्नो हातबाट कसैको ज्यान नजाओस् भनेर कामना गरेको भेटिन्छ । ज उनले आफैँले तयार गरेर फेसबुकमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मान्छेको जीवन र मृत्यु भगवानले दिएर पठाएको हुने रहेछ, मेरो हातबाट कसैको ज्यान नआओस् ।’ जुन भिडियो उनले पत्नीको हत्या गर्नुभन्दा केही समयअघि मात्रै फेसबुकमा पोस्ट गरेको देखिन्छ ।

उक्त भिडियोमा उनले कैयन हत्याको प्रसङ्ग आफूले सुनेको भन्दै उनले त्यस्तो सुन्दा आफूलाई निन्द्रा नलाग्ने गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा थापाले भनेका छन्, ‘सम्बन्ध, बिचार नमिले छुटेर बसौँ ।’ तर, उनै कुमार पत्नीको हत्या आरोपमा अहिले प्रहरी वृत्त बालाजुको हिरासतमा छन् ।

उसो त सामाजिक सञ्जालमा मृतक भुजेलले पनि कुमारलाई गालीगलौज गरेको भेटिन्छ । भुजेल सेनाको प्राविधिक सुबेदार हुन् ।कुमार पनि पूर्वसैनिक हत्या आरोपी कुमार थापा पनि पूर्व सैनिक हुन् । सेनाको जागिर छाडेर उनी खेलकुदमा लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । अहिले उनी कुस्तीबाज ‘नेपाली ब्रो’को रूपमा परिचित छन् ।

पत्नीको हत्या गर्दा उनले प्रयोग गरेको धारिलो हतियार ‘चक्कु’ बरामद गरिएको एसपी भट्टराईले बताए । उनले भने, ‘हत्यामा प्रयोग भएको चक्कु बरामद गरेका छौँ ।’हत्या गर्दा कुमारले फलामको रड, इट्टा र ढुङ्गा पनि प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा कुमार मात्रै देखिए पनि कुमारसँग जोडिएका अन्य व्यक्तिहरूको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका एक जना अधिकृतले बताए । उनले भने, ‘अरू को–को संलग्न छन् भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend