logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक


  • जन आकाश
  • आइतबार, साउन ३ २०८३

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवाको औपचारिक शुभारम्भ गरेको छ।



बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस (POS) टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार यी सेवाले डिजिटल बैंकिङ इकोसिस्टमलाई थप सुदृढ बनाउनुका साथै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवाबाट व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो तथा भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्। बैंकका अनुसार यस सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्नुका साथै व्यापारिक कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकका जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। ग्राहकलाई सुरक्षित, सरल, छरितो तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यअनुसार डिजिटल सेवाको दायरा विस्तार गरिने बैंकको भनाइ छ।

आईएसओ 9001:2015 र आईएसओ 27001:2022 प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend