जन आकाश
काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफू छिट्टै नेपाली भूमिमा फर्किने बताएका छन्।
स्वास्थ्य उपचारका क्रममा हाल विदेशमा रहेका पूर्वप्रधानमन्त्री देउवाले बीपी स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।
आफ्नो आठ दशक लामो राजनीतिक यात्रा र ६ दशकभन्दा लामो कांग्रेसको सक्रिय राजनीतिलाई स्मरण गर्दै देउवाले लोकतन्त्र, संविधानवाद र जनताको अधिकारका पक्षमा आफ्नो अडान कहिल्यै विचलित नहुने स्पष्ट पारेका छन् ।
उनले फरक विचारप्रति राज्यले देखाएको असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरे। प्रतिपक्षलाई दबाउन भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्तिको विरोध गर्नु नै कांग्रेसको ऐतिहासिक दायित्व भएको उनको भनाइ छ।
देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर प्रतिपक्षलाई आतंकित पार्ने औजारका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमा दबाब सिर्जना गर्न थालेको छ, जुन मुलुकको लोकतान्त्रिक प्रणालीका लागि गम्भीर संकेत हो।
जननायक बिपी कोइरालाको मेलमिलाप नीति र आदर्शलाई मार्गदर्शन मान्दै देउवाले आज देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्यको आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले विगतका अनुभव र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई जोडेर राष्ट्र निर्माणको साझा संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।
आफ्नो वक्तव्यको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा विश्वस्त रहेको बताउँदै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि दृढतापूर्वक उभिन आफू पुनः नेपाली भूमिमा पाइला टेक्दै गरेको सन्देश दिएका छन्। उनले नेपाली जनता, युवा पुस्ता र नागरिक समाजसँगको निष्ठा र प्रतिबद्धतालाई पुनर्जीवित गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी दिएका छन्।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend