logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कोशिस हुदैछः अर्थमन्त्री


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिष्टबाट चाँडै बाहिर निस्कने उनको विश्वास छ ।



आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई विहिवार सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने बताए । उनले कर संकलनका लागि जबर्जस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्नुपर्नेमा जोड दिए।

कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भएर भन्न पनि उनले आग्रह गरे । कर प्रशासनमा काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे । यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताए ।

बजेटमा दिइएको छुटका योजना कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend