logo आइतबार, साउन १० २०८३ | Sunday 26th July 2026

होङ्शी शिवम् सिमेन्टको आम्दानी १०.३१ अर्ब


  • जन आकाश
  • आइतबार, साउन १० २०८३

काठमाडौं । होङ्शी शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२र,८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।



कम्पनीले आर्थिक वर्ष २०८१ र ८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो आर्थिक वर्षको १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा २०.७५ प्रतिशत अर्थात् २ अर्ब २७ करोड ६० लाख रुपैयाँ बढी हो ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७९र ८० मा १३ अर्ब ४ करोड ३० लाख रुपैयाँ, आव २०७८र७९ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँ, आव २०७७र ७८ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ, आव २०७६र७७ मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँ तथा आव २०७५र७६ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।

सुधारिएको बिक्री मूल्य (रियलाइजेसन) का कारण कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१र८२ मा करिब २१ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८२र८३ को ९ महिनामा पनि आम्दानीमा १८ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ । बिक्री मूल्यमा सुधार तथा विद्युत् र इन्धन खर्च घटेका कारण सञ्चालन नाफा मार्जिन पनि ९ महिनामा करिब ३१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २४ प्रतिशत थियो ।

नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्शी शिवम् सिमेन्ट नेपालकै सबैभन्दा ठूलो एकीकृत ग्रीनफिल्ड सिमेन्ट उद्योग हो । कम्पनीको वार्षिक उत्पादन क्षमता २० लाख मेट्रिक टन क्लिंकर र २३ लाख मेट्रिक टन सिमेन्ट रहेको छ । कम्पनीले ‘होङ्शी’ ब्रान्डअन्तर्गत अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट र पोर्टल्याण्ड पोजोलाना सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

२०१५ सेप्टेम्बरमा स्थापना भएको कम्पनीमा हङकङ रेड लायन सिमेन्ट नं.३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ्स लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ । चीनको अग्रणी सिमेन्ट उत्पादकमध्ये एक मानिने हङकङ रेड लायन समूहले चीनमा करिब ५० वटा ठूला सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ भने लाओस, इन्डोनेसिया र म्यानमारमा पनि यसको उपस्थिति छ । शिवम् होल्डिङ्स, शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत स्वामित्व रहेको सहायक कम्पनी हो ।

कम्पनीका अनुसार गत आर्थिक वर्षको ९ महिनासम्म स्वीकृत कर्जा सीमाभित्र करिब २३ प्रतिशत अतिरिक्त कर्जा उपयोग गर्ने क्षमता रहेको थियो । साथै, कम्पनीसँग करिब ३ अर्ब २० करोड रुपैयाँ नगद मौज्दात रहेकाले खुद ऋणको स्तर न्यून रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ लिएको छ ।

यद्यपि, नियामकीय स्वीकृतिसन्मा ढिलाइ र भावी लगानी योजनाका कारण पछिल्ला दुई आर्थिक वर्षका करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश वितरण हुन बाँकी छ । तर, आर्थिक वर्ष २०८१र८२ मा लाभांश वितरण अनुपात खुद नाफाको करिब ४३ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ । अघिल्ला दुई वर्षमा यो औसत २९६ प्रतिशत पुगेको थियो ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२र८३ को ९ महिनामा क्लिंकर बिक्रीको शतप्रतिशत तथा सिमेन्ट बिक्रीको करिब ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट आएको थियो । सीमित ग्राहकमा उच्च निर्भरताका कारण कर्जा असुली र व्यापार नवीकरणसम्बन्धी जोखिम कायम रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, कुल बिक्रीमा क्लिंकरको योगदान पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७८र७९ मा करिब ४० प्रतिशत रहेको क्लिंकरको हिस्सा घटेर आर्थिक वर्ष २०८२र८३ को ९ महिनामा २७ प्रतिशतमा झरेको छ । आफ्नै क्लिंकर उत्पादन गर्ने ग्राइन्डिङ–आधारित सिमेन्ट उद्योगहरूको संख्या बढेसँगै तेस्रो पक्षबाट हुने क्लिंकरको माग घटेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सिमेन्ट उद्योग निर्माण क्षेत्रको गतिविधिमा प्रत्यक्ष निर्भर हुने भएकाले माग मौसमी र आर्थिक चक्रअनुसार उतारचढाव हुने गर्छ । यसले उत्पादन क्षमता उपयोग, बिक्री, आम्दानी र नाफामा प्रभाव पार्न सक्छ । निर्माण गतिविधि सुस्त हुने वा कर्जा ब्याजदर बढ्ने अवस्थामा नगद प्रवाहमा दबाब पर्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend