logo आइतबार, साउन १० २०८३ | Sunday 26th July 2026

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित


  • जन आकाश
  • आइतबार, साउन १० २०८३

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्स, कोलकाता (भारत) द्वारा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले उदीयमान तारा–विकास’ विधाअन्तर्गत उक्त सम्मान प्राप्त गरेको हो।



यो सम्मान २०२६ जुलाई २४ मा भारतको नयाँ दिल्लीमा आयोजित चौथो उदीयमान एसिया बैंकिङ सम्मेलन तथा अवार्ड समारोह’ मा प्रदान गरिएको हो। बिमस्टेक क्षेत्रकै प्रतिष्ठित बैंकिङ सम्मेलन तथा अवार्ड कार्यक्रममा भारत, नेपाल, श्रीलङ्का, बंगलादेश र म्यानमारका विभिन्न बैंकहरूको सहभागिता रहेको थियो।

डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेबापत महालक्ष्मी विकास बैंक उक्त सम्मानबाट सम्मानित भएको हो।

यसअघि पनि बैंकले गत वर्ष ‘सम्पत्ति गुणस्तर’ विधाअन्तर्गत यही प्रतिष्ठित अवार्ड प्राप्त गरेको थियो। लगातार दुई वर्ष अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको बैंकले यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान, विश्वसनीयता र प्रतिष्ठा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै आएको महालक्ष्मी विकास बैंकले देशभरका ग्राहकलाई अत्याधुनिक, सुरक्षित, सहज तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। प्रविधिमैत्री बैंकिङ सेवाको विस्तार गर्ने क्रममा बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको अत्याधुनिक डिजिटल सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बैंकले आगामी दिनमा पनि नवीन प्रविधिमा आधारित सेवा विस्तार गर्दै ग्राहकलाई अझ प्रभावकारी र सहज बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend