जन आकाश
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२–८३ मा तीन अर्ब ५५ करोड रूपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्ष २०८१–८२ मा बैंकले दुई अर्ब ५७ करोड नाफा कमाएको थियो। यो रकम ३८ प्रतिशतले बढेको हो।
खुद ब्याज आम्दानी, अन्य आम्दानी बढेपछि र प्रावधान रकम घटेपछि नाफामा उलेख्य सुधार भएको हो। बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोडबाट बढेर ६ अर्ब ९९ करोड पुगेको छ।बैंकले फि, कमिसन र अन्य आम्दानीबाट दुई अर्ब ७४ करोड कमाएको छ।
यसअघि एक अर्ब ८८ करोड प्रावधान राखेकोमा यसपटक भने एक अर्ब सात करोड मात्रै यस्तो प्रावधान राखेको छ।बैंकको कुल कर्जा ११.१९ प्रतिशतले बढेर दुई खर्ब तीन अर्ब रूपैयाँ र कुल निक्षेप १०.८४ प्रतिशतले बढेर दुई खर्ब ४९ अर्ब रूपैयाँ पुगेको छ।
बैंक पुँजी कोष अनुपातको आधारमा सहज अवस्थामा छ।नियामक निकायले यस्तो अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेकोमा बैंकको यो अनुपात १३.१० प्रतिशत छ।त्यस्तै, प्राथमिक पुँजीको आधारमा यस्तो अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्नेमा यो १०.१७ प्रतिशत छ।
बैंकको निष्क्रिय कर्जा ३.०१ बाट घटेर २.८७ प्रतिशतमा सीमित भएको छ। यसको प्रतिसेयर आम्दानी १८.९४ प्रतिशतबाट बढेर २५.७५ प्रतिशत र सेयरमा प्रतिफल १.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट २०.८५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखाएको छ।यसले वितरणयोग्य नाफाबाट अग्राधिकार सेयरले पाउनुपर्ने ब्याज घटाएको हो होइन भनेर खुलाएको छैन।
दुई अर्ब रूपैयाँको अग्राधिकार सेयर जारी गरेकोले बैंकले यसमा १६ करोड ५० लाख रूपैयाँ ब्याज दिनुपर्ने हुन्छ। यदी लाभांश वितरण क्षमतामा ब्याज नघटाएको भए बैंकले दुई अर्ब ६६ करोड रूपैयाँ मात्रै बाड्न सक्छ। यो भनेको चुक्ता पुँजीको आधारमा १७ प्रतिशतभन्दा केही बढी हो। यो दरमा मात्रै लाभांश वितरण गर्न सक्छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend