जन आकाश
काठमाडौं । नेनेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को वैशाख महिनाका लागि जारी गरिएको मासिक योजना अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा विभागीय प्रमुखहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, वरिष्ठ व्यवसाय प्रबन्धक, व्यवसाय प्रबन्धक तथा अभिकर्ताहरू गरी करिब ३०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र व्यवसायिक सूचकाङ्कमा उत्कृष्ट सफलता हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले यस उपलब्धिमा सहयोग पुर्याउने नियामक निकाय, ग्राहकवर्ग, अभिकर्ता साथीहरू तथा कम्पनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
साथै, नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै उहाँले ग्राहकलाई अझ गुणस्तरीय सेवा र सुविधा प्रदान गर्न सबै कर्मचारी तथा अभिकर्ताहरूले आ–आफ्नो स्थानबाट थप जिम्मेवारीका साथ कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कम्पनीले आगामी दिनमा अभिकर्ता सञ्जाललाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयलाई विशेष प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठित उपाधि एमडीआरटी (MDRT) हासिल गर्न आवश्यक रणनीति, कार्यशैली तथा सफलताका सूत्रबारे विभिन्न उदाहरणसहित प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति, चर्चित कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालको आकर्षक सांगीतिक प्रस्तुति रहेको थियो। साथै, चर्चित गायक दीपक बज्राचार्य एण्ड रिदम ब्यान्डको लाइभ कन्सर्ट तथा चर्चित डीजे अमुको दमदार प्रस्तुतिमा सहभागी अभिकर्ताहरूले भरपुर मनोरञ्जन लिनुका साथै कार्यक्रमलाई उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend