जन आकाश
काठमाडौं । चिकित्सकहरुले आज अस्पतालहरुमा ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका हुन् ।
नारायणी अस्पताल वीरगञ्जमा डा। प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् उनीहरुले देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।
त्यसैले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरुमा आज ओपीडीमा बिरामी जाँच भएको छैन । ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
वीर अस्पतालका सूचना अधिकारी डा। प्रकाश बुढाथोकीले ओपीडी सेवा बन्द भएको जानकारी दिए । ‘संघबाट ढिला गरी सूचना आएको थियो करिब २०० टिकट काटिसकिएको थियो’ डा। बुढाथोकीले अनलाइनखबरसँग भने, ‘ओपीडी टिकट काटेका बिरामीलाई सेवा दिएर सेवा बन्द गरेका छौं ।’ उनका अनुसार डाक्टरहरूले नै ओपीडी टिकट नकाट्नु बिरामी हेर्दैनौं भनेपछि बन्द गरिएको छ ।
त्यसैगरी कान्ति बाल अस्पतालमा भने अस्पताल पुगेका बिरामीलाई आकस्मिक कक्षको टिकट काटेर सेवा दिइएको छ । अस्पतालका निर्देशक डा। पंकज राय भन्छन्, आएका बिरामीलाई फर्काएका छैनौं । आकस्मिक कक्षको टिकट काटेर ओपीडी सेवा दिइरहेका छौं ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरे पनि त्यसको पालना भएको छैन ।मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल गरेका छन् । दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् । तर ओपीडी सेवा खुलेको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend